राज कुमार ठाकुर
चन्द्रौटा/२२ फाल्गुन
सामाजिक अभियन्ता तथा सञ्चारकर्मी दीपक खड्काले आफ्नो माता(पिताको नाममा अक्षय कोष स्थापना गरेका छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यले उनले शिवराज नगरपालिका–२ स्थित बाल शिक्षा माध्यमिक विद्यालयमा रु ५० हजारको अक्षय कोष स्थापना गरेका हुन् ।बुबा विष्णु खड्का र आमा सावित्री खड्काको नाममा स्थापित उक्त अक्षय कोष विद्यालयमा अध्ययनरत आर्थिक रूपले कमजोर विद्यार्थीहरूको शैक्षिक आवश्यकताहरू पूरा गर्न प्रयोग गरिनेछ। शुक्रबार आयोजित एक समारोहमा खड्काले विद्यालय व्यवस्थापन समितिलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।समारोहमा बोल्दै खड्काले आर्थिक अभावकै कारण कतिपय बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने परिस्थितिप्रति चिन्ता व्यक्त गरे । उनले आफ्नो बाल्यकालका चुनौतीहरूको स्मरण गर्दै शिक्षा लिने क्रममा भोग्नुपरेका कठिनाइहरू रहेकोले समाजका सबै पक्षलाई शिक्षामा योगदान गर्न आग्रह गरे । साथै, उनले भविष्यमा उक्त अक्षय कोषलाई रु ५ लाख पुर्याउने प्रतिबद्धता जनाए।कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव सिबी गहतराजले शिक्षामा गरिएको लगानी नै सबैभन्दा महत्वपूर्ण लगानी भएको बताउँदै खड्काको योगदानको प्रशंसा गरे । नेपाल पत्रकार महासंघका सचिव सनिउल्ला धोबीले शिक्षालाई गुणस्तरीय बनाउन निरन्तर प्रयास गर्नुपर्ने र अक्षय कोषको उचित सदुपयोग गरी विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुर्याउनुपर्नेमा जोड दिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर घर्तीले विद्यालयमा शिक्षक अभावका कारण पठन(पाठनमा समस्या भइरहेको बताउँदै शिक्षामा थप सहयोग आवश्यक रहेको उल्लेख गरे । प्रधानाध्यापक मेघनाथ अधिकारीले खड्कालाई धन्यवाद ज्ञापन गर्दै अक्षय कोषले विद्यालयका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने विश्वास व्यक्त गरे ।
