राजकुमार ठाकुर
शिवराज नगरपालिका वडा नं ५, सुन्दटोल निवासी विष्णु अधिकारी (नेपाली) को घाँटीमा लगाएको डेढ तोला सुनको सिक्री लुटेराले लुटेर लगेको पीडितको भनाई छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रौटा चोकदेखि ५सय पश्चिम केबी पेट्रोल पम्पको पश्चिम सुन्दरटोल जाने बाटोमा किरानासँगै चिया पसल गर्दै आएका दीपक नेपालीकि धर्मेपत्नी विष्णुको घाँटीबाटै सिक्री लुटिएको हो । घटना मंगलबार दिउँसो करीब १ देखि २ बजेको बिचमा भएको हो ।
केही दिनदेखि त्यहाँ आउने, खाजा खाने र घण्टौंसम्म बसेर योजना बनाउँदै आएका ती लुटेरा बिहानै आएर चिया खाएको र दिउँसो पुन: खाजा खान आएको पीडित विष्णुको भनाई छ । दिउँसो एक्लै भएको मौका छोपी खाजाको पैसा दिने क्रममा घाँटीबाट सिक्री लुटेर मोटरसाइकलमा भागेको बताइएको छ । घटना लगत्तै पीडितले हारगुहार मागेपछि छिमेकीहरू त्यहाँ जम्मा भएपनि लुटेरा भागिसकेको पीडितले बताउनुभयो । लुटेराहरू ज्ञानज्योति आधारभूत विद्यालय भुड्ढिहवाको बाटो भएर ग्यालेक्सी पिउने पानीको बाटो हुँदै भागेको ग्यालेक्सी पिउने पानीको सिसी क्यामेराको फुटेजमा देखिएको छ ।
घटना लगत्तै पीडितले वडा प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरी टोलीले अनुसन्धान कार्य अघि बढाएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार घटनामा संलग्नको तीब्र खोजी कार्य जारी रहेको बताइएको छ ।
