५ पुस, म्याग्दी ।
श्री मुक्तिधाम माध्यमिक विद्यालयको प्राङ्गणमा आधारभूत तह (१–५) अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि तथा अन्तरनिहित प्रतिभा प्रस्फुटनको उद्धेश्यले आयोजित यस प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी जम्मा ९ वटा माध्यमिक र आधारभूत तहका विद्यालयहरु सहभागी भएका थिए ।
प्रतियोगितमा श्री अन्नपूर्ण आधारभूत विद्यालय, श्री नर्थ स्टार इङलिस बोर्डिङ स्कुल, श्री मुक्तिधाम माध्यमिक विद्यालय, श्री रघुगंगा माध्यमिक विद्यालय, श्री ज्ञानोदय माध्यमिक विद्यालय, श्री हिमालय आधारभूत विद्यालय, श्री मालिकादेवी आधारभूत विद्यालय, श्री सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालय र श्री देउराली आधारभूत विद्यालय सहभागी भएका थिए । नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, गणित, स्वास्थ्य, संगीत र फोटो गरी कुल ८ विधामा आधारीत रहेको यस प्रतियोगीतमा प्रत्येक विद्यालयबाट ३/३ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
सहभागी विद्यालयहरुमा १४० अंक ल्याई श्री मुक्तिधाम मा.वि. प्रथम, ११५ अंक ल्याई श्री ज्ञानोदय मा.वि. द्धितीय, १०० अंक ल्याई श्री नर्थ स्टार इङलिस बोर्डिङ स्कुल तृतीय स्थान हाँसिल गर्न सफल भएको छ। प्रतियोगीतमा प्रथम पुरस्कार रु. ३०००, द्धितीय रु. २०००, तृतीय रु. १०००, र सहभागी सवै विद्यार्थीहरूलाई स्टेशनरी तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।
मुक्तिधाम मा.वि.का पुर्व वि.व्य.स. अध्यक्ष देवेन्द्र बहादुर मल्लको आर्थिक सहयोग तथा मुक्तिधाम मा.वि.को आयोजनमा भएको यस प्रतियोगीतका प्रमुख अतिथि देवेन्द्र बहादुर मल्ल तथा अध्यक्ष प्र.अ. अमर बहादुर के.सी.रहेका थिए । कार्यक्रम वि.व्य.स. अध्यक्ष लक्ष्मी प्रसाद सुवेदी, सदस्य भेष बहादुर भण्डारी, टिका बहादुर सेन, वडा नं. २ का अध्यक्ष अमृत भण्डारी, तप्त बहादुर थापा, चेतनाथ सुवेदीको आतिथ्यता तथा सहभागी विद्यालयका शिक्षक, पत्रकार विद्यार्थीहरुको उपस्थितीमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक विष्णु प्रसाद रेग्मी र मेघा रिजालले गर्नुभएको थियो ।
