सुधांशु गिरी
कृष्णनगर/ फागुन २१
नेपालको अस्मिता , सार्वभौमिकता तथा नागरिकका अधिकारका लागि माओवादी केन्द्रको ऐतिहासिक सभा—राष्ट्रभक्तिको अवाजले कृष्णनगर गुन्जियाे ।
कृष्णनगर (नेपाल): नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अस्मिताप्रति अडिग प्रतिबद्धताको घोषणा गर्दै ने.क.पा ( माओवादी केन्द्र )ले वार्ड नं. ८ र ९ मा ऐतिहासिक सभा आयोजना गरेको छ। यस अभूतपूर्व कार्यक्रममा हजारौँ नागरिक, क्षेत्रीय नेता तथा कार्यकर्ता सहभागी भएका थिए।
सभाको मुख्य अतिथि ने.क.पा (माओवादी केन्द्र) लुम्बिनीका प्रदेश सदस्य मौलाना मशहूद खान नेपालीले जब आफ्नो दिल छुने शब्दमा देशको वर्तमान स्थितिको पीडा व्यक्त गरे तब सम्पूर्ण सभा भावनाले भरिएको थियो। उनले आफ्नो जोशिलो र प्रभावशाली सम्बाेधनमा भने, – “के हामी हाम्रो आउने पुस्तालाई त्यस्तो नेपाल दिन चाहन्छौं, जहाँ हरेक दिन २२१५ नेपाली नागरिक रोजगारीको खोजीमा बिदेशिन बाध्य छन् ? के यो त्यही नेपाल हो, जसका लागि हाम्रा पूर्वजहरूले संघर्ष गरेका थिए ? आज बुढापाका एक्लै छन , बालबािलकाहरू आफ्ना अभिभावक बिना छन्, र विवाहित महिलाहरू पति हुंदाहुंदै पनि एक्लो जीवन बिताउन बाध्य छन्। विगत १६ वर्षमा १४,१४४ नेपाली नागरिकको शव विदेशबाट फर्किएका छन्। कामको खोजीमा निस्किएका हजारौँ युवा डिप्रेशनको शिकार भएका छन्, र यही मानसिक तनावको कारण हरेक २४ घण्टामा २० नेपाली आत्महत्या गर्न बाध्य छन्।”
उनका यी गम्भीर तथा मननीय विचारहरूले सभामा उपस्थित प्रत्येक व्यक्तिको मनको गहिराइमा प्रभाव पारेको थियो । त्यहाँ उपस्थित जनतालाई राष्ट्रिय अस्मिता र आत्मसम्मानको लागि केही गर्ने जोश स्पष्ट देखिन्थ्यो ।
नेपालको सार्वभौमिता र सम्मानको लागि हरेक मूल्यमा संघर्ष गर्ने संकल्प :
यस अवसरमा कृष्णनगर नगर समितिका अध्यक्ष जावेद आलम खांले पनि जोशिलो रुपमा आफ्ना विचार राखे। उनले गर्व र आत्मसम्मानको साथ भने- “हाम्रो प्राथमिकता केवल नेपालको स्वतन्त्रता, सार्वभौमिकता र सम्मान हो। हामी हाम्रो राष्ट्रको अस्मिताको रक्षा गर्नका लागि हरेक स्तरमा संघर्ष गर्नेछौं र कुनै पनि मूल्यमा हाम्रो मातृभूमिको गौरवसँग सम्झौता गर्ने छैनौं। यो सभा केवल एक बैठक होइन, तर एउटा ऐतिहासिक संकल्प हो, जसले प्रमाणित गर्छ कि नेपाल आफ्नो हक र पहिचानको रक्षा गर्न सधैं अडिग रहनेछ।”
यसको साथसाथै, उनले यस आयोजनाको ऐतिहासिक सफलतामा सबै कार्यकर्ताहरू र नागरिकहरूलाई हार्दिक बधाई दिए र उनीहरूको प्रतिबद्धतालाई सम्मान गरे।
वार्ड नं. ८ मा सहदेव कुर्मी चौधरीको अध्यक्षतामा २१ सदस्यीय समितिको गठन गरिएको छ जसमा आरती कहांरलाई उपाध्यक्ष र सलाम मुसलमानलाई सचिव मनाेनयन गरिएको छ। वार्ड नं. ९ मा महेश चौधरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ जसमा जगरानी बढ़ईलाई उपाध्यक्ष र आकाश बढ़ईलाई सचिव चयन गरिएको छ।
यो बैठक केवल एक सांगठनिक निर्णयको हिस्सा होइन, बरु नेपालका जनताको सचेत र आफ्नो हकका लागि संघर्ष गर्ने संकल्पको गवाह बन्याे ।
सपना साकार गर्ने नायकहरूको कडा मिहिनेतको उदाहरण :
यस ऐतिहासिक आयोजनालाई सफल बनाउन तुफैल आलम खान, आज़ाद अहमद खान, नाजिमसाहब अतीकुररहमान शाह, अब्दुल रशीद शाह, रामधनी यादव, दयानन्द त्रिपाठी, रमजान मुसलमान, दिनेश चोधरी, पूजा हरिजन, लवकुश यादव, फूलमती कहार, रामरती हरिजन, शामी गुप्ता, अनूप यादव, तुलसा नाउ जस्ता व्यक्तिहरुको अथक मिहिनेत र प्रतिबद्धतालाई विशेष आभार व्यक्त गरियाे । उनीहरूको योजनाबद्ध रणनीति, समर्पण र नेतृत्वले यस सभालाई राष्ट्रिय आन्दोलनको रूप दिएको थियो ।
