राज कुमार ठाकुर चंद्रौटा
इफ्तार कार्यक्रममा पुगेका शाह
इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकामा इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवानेता तथा संविधानसभा सदस्य अभिषेक प्रताप शाहको विशेष सहभागिता रहेको थियो ।कार्यक्रमका क्रममा शाहले रमजान महिनाको पवित्रता र धार्मिक सहिष्णुताको महत्त्वलाई उल्लेख गर्दै मुस्लिम समुदायका लागि शुभकामना व्यक्त गर्नुभयो ।उहाँले सबै धर्म, जात र समुदायबीच भाइचाराको सम्बन्धलाई बलियो बनाउन इफ्तार कार्यक्रम जस्ता अवसरहरू महत्त्वपूर्ण रहने बताउनुभयो । साथै, मुस्लिम समुदायको विकास र समृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो ।शिवराज नगरपालिका–८ का वडाध्यक्ष रिजवान अहमद खाँले विशनपुरमा कार्यक्रमको आयोजना गर्नुभएको हो ।कार्यक्रममा सहभागी भएका संविधानसभा सदस्य शाहलाई वडा अध्यक्ष खाँले धन्यवाद व्यक्त गर्दै मुस्लिम समुदायबीच आपसी सद्भाव कायम राख्न यस्ता कार्यक्रमहरू आवश्यक हुने उल्लेख गर्नुभयो ।इफ्तार कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा मुस्लिम समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा आफू सहभागी हुन पाउँदा निकै खुसी लागेको पत्रकार चिन्ता परियारले बताउनुभयो ।शिवराज नगरपालिकामा यसप्रकारको सामुदायिक इफ्तार कार्यक्रमले धार्मिक सहिष्णुता र सामाजिक एकतामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
