Friday, February 27Nepali Online News Portal

कपिलवस्तुको विजयनगरम २ सय ८९ कृषकलाई कृषि उपकरण


   

धर्मेन्द्र कुमार कुर्मी
३० असार

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले कृषकलाई कृषि यन्त्र उपकरण वितरण गरेकाे छ । कृषकलाई बालीको उत्पादन बृद्धि तथा प्रवर्द्धन गरी किसानको आयस्तर बृद्धि गराउन कृषि उपकरण प्रदान गरेकाे हाे । प्रविधियुक्त आधुनिक कृषि प्रणालीको प्रयोगले समयकाे सदुपयोगसँगै कृषकका गतिविधिलाई चलायमान र सहजताका लागि कृषि उपकरण दिएकाे छ ।

साेमबार विजयनगर गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा २ सय ८९ जना कृषकलाई कृषि उपकरण वितरण गरेकाे कृषि विकास शाखाका प्रमुख राम सुन्दर मालीले जानकारी दिए । २ कट्ठा भन्दा बढी क्षेत्रमा व्यावसायिक रुपले मकै र तरकारी खेती गरि रहेका किसानलाई कृषि उपकरण प्रदान गरिएको उनलेे बताए ।

उनका अनुसार जीटुजी कार्यक्रम अन्तर्गत ९ जना कृषकलाई मिनि टिलर, ४ जनालाई झार फाल्ने मेसिन, ३६ जनालाई पम्प सेट, १ सय २५ जनालाई पानी तान्ने माेटर र १ सय २५ जना कृषकलाई १३ क्विन्टल ३० किलाे डेलिभरी पाइप उपलब्ध गराइएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले यु.एस.ए.आई.डी. मार्फत जीटुजी कार्यक्रम अन्तर्गत कृषि उपकरण किसानलाई उपलब्ध गराइएको बताए । यसले कृषि उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिएकाे उनले बताए । अध्यक्ष थापाले कृषि क्षेत्रमा ठुलाे याेजना बनाएर अगाडी बढिरहेको अवस्थामा अमेरिकी सरकारद्वारा सञ्चालित जीटुजी अनुदानका कार्यक्रम ताेडिएपछि ठुलाे क्षति पुगेकाे बताए ।

उनले निरन्तर ५ वर्षसम्म चल्ने याे कार्यक्रमले हरेक किसानकाे घर-घरमा कृषि उपकरण पुर्‍याउने याेजना बनाइएको भए पनि जीटुजी कार्यक्रम नै खारेज भएपछि हाम्रो सपना अधुरो भएको भन्दै चिन्ता व्यक्त गरे । उनले याे कार्यक्रम राेकिए पनि कृषि शाखाले विभिन्न कृषिका कार्यक्रमहरु सञ्चालन गरेकाे हुँदा उपलब्ध सेवा, सुविधाहरु लिई कृषि कार्यमा लाग्नुपर्नेमा जाेड दिए ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले यस्ता उपकरणले कृषकलाई आधुनिक प्रणालीमा महत्त्वपूर्ण टेवा पुग्ने गाउँपालिकाले अपेक्षा लिएकाे बताए । आधुनिक कृषि उपकरणहरूले गर्दा समय, श्रम र लागतमा बचतकाे साथै उत्पादनमा पनि वृद्धि हुने बताउँदै प्राप्त उपकरणकाे सदुपयोग गर्नुपर्नेमा उनलेे जाेड दिए ।

गाउँपालिकाले जीटुजी कार्यक्रम अन्तर्गत १ नम्बर वडालाई मकै खेती, २ नम्बर वडालाई तरकारी खेती, ३ नम्बर वडालाई धान खेती, ४ नम्बर वडालाई तरकारी खेती, ५ नम्बर वडालाई मकै खेती, ६ नम्बर वडालाई माछा खेती र ७ नम्बर वडालाई तरकारी खेती पकेट क्षेत्रकाे रुपका याेजनाबद्ध रुपमा अगाडी बढेकाे थियोे । जीटुजी कार्यक्रम खारेज भएपछि सबै कार्यक्रमहरु राेकिएका छन् ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्