
धर्मेन्द्र कुमार कुर्मी
विजयनगर
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा मन्तव्यकला, नेतृत्व विकास, उद्यमशीलता, सकारात्मक साेँच र महिला अधिकार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण तालिम सुरु भएको हाे ।
गाउँपालिकाकाे आयाेजना र समृद्धि सामुदायिक विकास सेवा केन्द्रकाे सहजीकरणमा दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको सहजीकरण संस्थाका अध्यक्ष सरस्वती आचार्यले जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले मानिसले जीवनभर नयाँ-नयाँ कुराहरु सिकी राख्नुपर्ने बताउँदै आफू व्यवस्थित, अनुशासित र मर्यादित हुन आवश्यक रहेकाे बताए । समृद्ध जीवनका लागि सीप सिक्न जरुरी रहेकाे जिकिर गर्दै सीप भए जीवन निर्वाह गर्न सहज हुँदै जाने उनले बताए ।
यसले सक्षमताकाे साथै राेजगारीकाे अवसर पनि प्रदान गर्दै जाने उनलेे बताए । असल नेतृत्वले सभ्य समाजकाे विकास र परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जाने अध्यक्ष थापाकाे भनाइ छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले याे प्रशिक्षण तालिम उपलब्धीमुलक हुने विश्वास व्यक्त गरिन् । महिला नेतृत्वलाई अझै सशक्त, अधिकार बाेध र आत्मनिर्भर बनाउनका लागि आवश्यक रहेकाे उनले बताइन् । उनले नेतृत्वकाे साथै महिलाहरुले उद्यमी बन्न जरुरी रहेकाे बताउँदै आफू स्वावलम्बी भई आर्थिक आयआर्जनकाे पाटाेलाई अब्बल बनाउनुुपर्नेमा जाेड दिइन् ।
यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले यस प्रशिक्षणले महिला नेतृत्व विकासमा टेवा पुग्ने बताए । हरेक नेतृत्व र विकासका लागि सकारात्मक साेँचका साथ अगाडी बढ्नुपर्ने बताउँदै महिलाले पनि नेतृत्व लिई लाग्नुपर्नेमा उनलेे जाेड दिए । सफल उद्यमीका लागि समय र माग अनुसार परिवर्तन हुँदै व्यवस्थापन गर्दै अगाडी बढ्न आवश्यक रहेकाे रिजालले जिकिर गरे ।
कार्यक्रमलाई प्रशिक्षक अधिवक्ता हेमा न्याैपाने, दिपा सुनार, समृद्धि सामुदायिक विकास सेवा केन्द्रका डाइरेक्टर तथा प्रशिक्षक माधव सापकोटाकाे सहजीकरणमा प्रशिक्षण सुरु भएको छ ।
