धर्मेन्द्र कुमार चौधरी
बैशाख ६
कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे चिरई नदीमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन् गरेकाे पाइएकाे छ । मिलेमतोमा ठेकेदारले खोलामा गैरकानुनी रुपमा मापदण्ड विपरीत नदीजन्य पदार्थ निकाली रहँदा सम्बन्धित निकाय मुकदर्शक भएर बसेका छन् ।
खाेलामा ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमानकाे शेयरसमेत रहेकाे स्राेतले जनाएको छ । स्राेतका अनुसार ठेक्का पाएकाे कम्पनी श्याम एण्ड सन्स निर्माण सेवा महाराजगन्ज कपिलवस्तुकाे डाेकुुमेण्ट प्रयाेग गरे वापत केही रकम मात्र कम्पनीलाई दिने गरि सम्झौता गरेर वडा अध्यक्ष मुसलमानले नै नदीकाे ठेक्का पारेका हुन् ।
उनले यसरी गाउँपालिका र प्रशासनसँग मिलेर नदी दाेहनमा लागेकाे तथ्य बाहिर आएकाे छ । नदीमा वडा अध्यक्ष मुसलमानकै लगानी भएपछि गाउँपालिकासमेत माैन भएर बसेकाे स्थानीय राेहन थारुले बताए । नदीमा चरम दाेहन भइरहँदा सम्बन्धित निकाय बेखर बसेकाे स्थानीय गुनासो गरेका छन् ।
स्थानीयले प्रहरी, प्रशासन, जनप्रतिनिधि र ठेकेदारहरुको मिलेमतोमा नै नदी दोहन भइरहेको आरोप लगाएका छन् । ठेकेदारले राज्यको सम्पत्ति दोहन गर्नुमा स्थानीय पालिका नै दोषी भन्दै आक्रोसित भएका छन् । केही दिन अगाडी मनाेमानी ढंगले नदीजन्य पदार्थ निकासी भएछि विराेध जनाउँदै नदी दाेहन राेक्न पालिकाममा निवेदन समेत दिएका थिए तर सम्बन्धित निकायकाे मिलेमतो भएका कारण उनीहरुकाे सुनुवाई समेत भएन ।
उनीहरुले अहिले ठेकेदारहरुले मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीमा लुटतन्त्र मचाएको बताएका छन् । यसरी खोलामा दोहन भइ रहँदा पर्यावरण वातावारणमा ठुलो असर पर्ने भए पनि सम्बन्धित निकायले कानमा तेल, आँखामा पट्टी बाँधेर बसेको स्थानीयले गुनासो गरेका छन् । मापदण्ड विपरीत उत्खनन् भएकाले खोलामा बाढी आउँदा नदी कटानको बढी सम्भावना रहेको बताए । यति मात्र हैन अध्यक्षको आडमा नक्कली बिल समेत प्रयोग गरेको फेला परेको छ ।
लगातार बाटोमा टिप्पर दौडि रहँदा जनताको स्वास्थ्यमा असर परेको बताएका छन् । दिनभरी टिप्परका दौडानले स्थानीयबासीलाई दिक्कदार बनाएको छ । उनीहरुले ठेकेदारलाई बाटोमा पानी हाल्न भने पनि नसुनेँ झैँ गरेको बताए । यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोमाराम रिजालले मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारलाई कारवाही गर्ने बताए ।
